राष्ट्रपति शासनको सम्भावना छैनः राष्ट्रपति

जनकपुर, जेष्ठ २ - राष्ट्रपति रामवरण यादवले मुलुकमा राष्ट्रपति शासनको कुनै सम्भावना नरहेको बताएका छन् ।


कान्छी आमाको दाहसंस्कारमा सहभागी हुन सोमवार विहान गृहनगर सपही आएका राष्ट्रपति यादवले आफू संविधान बाहिर नजाने स्पष्ट पारे । 'अन्तरिम संविधानले राष्ट्रपति शासनको कल्पना गरेको छैन । म संविधानलाई सम्मान गर्छु,' राष्ट्रपति शासनको सम्भावना अस्वीकार गर्दै उनले भने, संविधान भन्दा बाहिर जान सक्दिन ।'

सेता कुर्ता पैजामा र ढाका टोपीमा सजिएका उदास यादवले संचारकर्मीहरुको जिज्ञासामा आफू शान्ति र संविधानप्रति आशावादी रहेको बताए । 'सबै राजनीतिक दल मिलेर निर्धारित समय (जेठ १४गते) भित्रै संविधान जारी गर्न सकोस् भन्ने मेरो सदीक्षा छ,' उनले भने ।

राजनीतिक टिप्पणी गर्न नचाहेका राष्ट्रपतिले संविधानसभाको म्याद थप्ने विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । उनले भने, 'संविधानसभा भित्रका २७ दलले गरेको निर्णय देश र जनताको पक्षमा हुनेछ भन्ने मैले आशा लिएको छु ।'

राष्ट्रपति यादवका दुई आमामध्ये जेठी रामरती देवीको २०२२ सालमै स्वर्गारोहण भएको थियो । जेठी आमाबाट यादवसहित पाँच दाजुभाइ छन् ।

कान्छी आमा सिकवादेवी यादवको ८० वर्षको उमेरमा सोमवार विहान पौने पाँच वजे मृत्यु भएको थियो । कान्छी आमा पट्टी दुई बहिनी र एक भाइ छन् ।

कान्छी आमा पट्टीका एकमात्र छोरा राम सुदीष्ट यादवले आमालाई दागबत्ती दिएका थिए । उनको अन्तिम संस्कार सपही गाउँ भन्दा उत्तर अवस्थित कमलाधारी आर्यघाटमा हिन्दु परम्परा अनुसार भएको छ ।

राष्ट्रपति सोमबार नै राजधानी फर्किएका छन् ।
साभार - इ. कान्तिपुर

No comments: